नाटक | व्यथा बृद्धाश्रमको | कथा बर्तमानको

(सुत्रधारले वर्तमान अवस्थामा छोरा छोरीहरुले बाबुआमाहरुलाई राम्ररी रेखदेख नगर्दाको पीडाबोध भएर हरेक घरमा वृद्धवृद्धाहरुको दुखेसोको बारेमा बोल्दै पैसामुखी बन्दै गइरहेको समाजमा पैसाकै कारण आफ्ना वावुआमाहरुलाई समय दिन नसक्दाको अवस्थामा वृद्धाश्रममा राखिने गरेको घटनाको बारेमा सारसंक्षेपमा बताउदै )

नाटक | व्यथा बृद्धाश्रमको | कथा बर्तमानको
photo : Ynil Haleju Shrestha

नाटक : व्यथा बृद्धाश्रमको : कथा बर्तमानको 

पात्रहरु: सन्देश : ( शुत्रधार )

  जुनेली : (मोहितकी आमा, बृद्धा )

जगत काका : (वेवारिसे वृद्ध )

  मोहित :     (जागिरे युवा, जुनेलीको छोरो )

  कमारी  :    ( बृद्धाश्रमकी सुसारे )

  लब्ली  :  (मोहितकी श्रीमती ) 

सिनं नं. १

(सुत्रधारले वर्तमान अवस्थामा छोरा छोरीहरुले बाबुआमाहरुलाई राम्ररी रेखदेख नगर्दाको पीडाबोध भएर हरेक घरमा वृद्धवृद्धाहरुको दुखेसोको बारेमा बोल्दै पैसामुखी बन्दै गइरहेको समाजमा पैसाकै कारण आफ्ना वावुआमाहरुलाई समय दिन नसक्दाको अवस्थामा वृद्धाश्रममा राखिने गरेको घटनाको बारेमा सारसंक्षेपमा बताउदै ) 

सुत्रधार : मलाई सम्झदा पनि अचम्म लाग्छ । अचेल हरेक घरमा शान्ति छैन । शान्तिलाई पैसासंग जोडिएको छ । त्यही पैँसाकै कारण आज घर घर जस्तो बन्न सकेको छैन । परिवारमा किचलो बढ्दै गइरहेको छ । हरेक घरमा बृद्ध वुवाआमालाई छोडेर छोराछोरीहरु विदेशतिर भौतारि रहेका छन् । अर्को कुरा पैसाकै लागि दिनरात खटिदै जाँदा वावुआमाहरुले सन्तानको स्याहार सुसार पाउन सकिरहेका छैनन् । त्यसैगरी मिठो मसिनो खान र लाउनकै लागि सन्तानहरुले आफ्ना वृद्ध वुवाआमासंग छुट्टिदै अलग बस्न थालेका छन् । विचरा वृद्धवृद्धाहरु एक्लै कुनामा बसेर रोइ दिन काट्न बाध्य भएका छन् । पश्चिमेली सभ्यता र संस्कृतिले जरो गाड्दै गइरहेको अवस्थामा अचेल बृद्धबृद्धाहरुको स्याहार सुसार गर्न छोरा बुहारीहरु हिच्किचाउने चलन बढ्दै जाँदा आफुलाई जन्मदिने बाबुआमाहरुलाई छोराछोरीले मनमा अलिकति पनि दया नमानेर लाजै नमानी वृद्धाश्रममा पठाउन थालेका छन् । आखिर यो कहिले र कतिन्जेलसम्म चल्ने हो ? के यही हो हाम्रो परम्परा, रिती रिवार र संस्कार ? आउनहोस् यस्तै विडम्बना बोकेको घटनालाई यहाँ उठाउन खोजिएको छ नाटक व्यथा वृद्धाश्रमको : कथा वर्तमानको माध्यमबाट । जोडदाड तालिको साथ स्वागत गरौँ । ) 

सिनं नं २ 

(जगतेकाका लठ्ठी टेक्दै स्टेजमा आउछन् । उनलाई स्वास्वाँ पनि बढ्न थाल्छ । स्टेजमा आएर चारैतिर हेर्दै निधारको पसिना पुच्छन् । लामो श्वास तान्दै भन्न थाल्छन् ) 

जगते काका : हरे राम , दिन पनि कति चाँडै गए मेरा । भर्खर जस्तो लाग्छ बाबुआमाको हात पकड्दै गाउँघर, मेलापात गएको । तर, आज हेर्दा हेर्दै जुँगा, दारी फुलिसके । हेर्दा हेर्दै कुप्रि परेर हिड्ने पनि भइयो । 

(.खोक्न थाल्छन् ) तर के गर्ने ? जन्मे पछि एकदिन मर्नै पर्ने रहेछ । तर, सजिलैसंग मर्न पनि नपाइने भइयो । आज आफ्नै घर पनि विरानो भयो ।आफ्नै छोराछोरी पनि पराया भए । आज आफैलाई आफ्नो जिन्दगी बोझ लाग्न थाल्यो । (रुँदै) बुढेस कालको साहारा भनेर छोरा छोरी पालियो , हुर्काइयो , पढाइयो , लेखाइयो । ठूलो मान्छे बनाइयो । तर, के गर्ने ? उनै छोराछोरीको बोझ भए जस्तो लाग्न थाल्यो । हरि शरणम । 

    ( भुइमा थचक्क बस्छ ) 

कुमारी : (जगतेलाई शाहारा दिँदै ) वुवा , चिसो भुइमा बस्नुहुन्न । माथि कुर्सिमै बस्नुहोस् । बुढोमान्छे फेरि चिसो लाग्यो भने निमोनिया हुन के बेर ? 

जगते काका : (कुमारीलाई हेर्दै ) नानी आखिर एक दिन मर्नै पर्ने हो । चिसो लागे पनि तातो लागे पनि । आफ्नाले कहिल्यै पनि सोचेनन् । 

कुमारी : म पनि तपाईकी छोरी जस्तै हुँ । त्यसरी चिन्ता नलिनुहोस् । 

जगतेकाका : बडो गजवको छ दुनिया है । आफ्ना छोरा छोरी भन्नेहरु सबै पाखा लागिसके । तर, तिमी कसकी छोरी हौँ ? आज तिमीले मलाई बाबा भनेर बोलाउँदा आफ्नै छोराछोरीले बोलाएको जस्तो याद आयो । 

(रुन थाल्छ ) म त एक्लो भए नानी । मेरो यो संसारमा आफ्नो सबै दुश्मन भए । म कस्को मुख हेरेर बाँचु ? यो उमेरमा न श्रीमती साथमा छ , न छोरा छोरी साथमा छन् । हे भगमान मलाई काल पनि किन नआएको होला ? 

कमारी : त्यसो नसोच्नुहोस वुवा । वृद्धाश्रम पनि एक परिवार नै हो । तपाई जस्तै धेरै आउछन् यो वृद्धाश्रममा साहारा खोज्न । तपाई एक्लो हुनुहुन्न । भर्खरै मलाई खबर आएको थियो एक जना वृद्धा पनि आउँदै हुनुहुन्छ रे । चिन्ता नगर्नुहोस् तपाई एक्लो हुनुहुन्न । ल म लागे । केही परेमा फेरि आउनेछु है बुवा । 

जगते काका : कुन चाही अभागीनि रहेछिन् म जस्तै यो संसारमा फेरि ? हरि शरणम , दैवको विधि विधान पनि बडो गजवको हुँदो रहेछ । (जगते काका पत्रिका हेर्न थाल्छन् ) 

सिन नं. ३ 

(मोहितले जुनेलीलाई डो¥याउँदै स्टेजसम्म ल्याउँछन् । त्यो दृश्य जगतेकाकाले हेरिरहेका हुन्छन् । मोहितले त्यहाँको बारेमा आफनी आमालाई भन्नथाल्छन् ) 

मोहित : आमा कत्ति पनि चिन्ता नगर्नुहोला । केही दिनलाई मात्रै हो आमा । हाम्रो कामको व्यस्तताले तपाईलाई हेरचाह गर्न सकेनौ । यहाँ सबै कुराको सुविधा छ । केही चिन्ता मान्नु पर्दैन । जति पैसा लागे पनि सबै म वेवस्था मिलाई दिन्छु । अब के गर्ने आमा ? तपाईको वुहारी पनि जागिरे , म पनि जागिरे । घरमा तपाईको रेखदेख हुन सकिरहेको छैन । अबको केही समय पछि हामी विदेशबाट फर्के पछि तपाईलाई ठूलो महलमा राख्ने । तपाईको सबै सपना पुरा गर्ने हो आमा । हाम्रो कुनै पनि चिन्ता लिनु पर्दैन । ल म अहिलेलाई लाग्छु । उ... हेर्नुहोस् त तपाई जस्तै एकजना वृद्ध वुवा पनि हुनुहुन्छ । आपसमा दुखसुखका कुरा गर्दै दिन कटाउनुहोला । मेरो याद आयो भने यो फोटो हेर्नुहोला है आमा । 

(मोहित त्यहाँबाट विदा हुन्छ ) 

जुनेली : –मोहितको फोटो अंगालोमा राख्दै ) ल बाबु चाँडै आएस है मलाई लिन । 

जगते काका : –जोडसंग हाँस्दै ) वाह .... क्यावात ..... तिमीलाई कसरी उल्लु बनाएर गयो हैन तिम्रो छोरो । तिमीलाई थाहा छ तिमी कहाँ आएर बसेकी छेउ ? तिमी घरमा होइन वृद्धाश्रममा आएर बसेकी छेउ । तिम्रो छोरोले तिमीलाई बोझ ठानेको थियो । आज हल्का बनाएर गयो कहिल्यै नआउने गरी । 

जुनेली : मलाई त ठूलो घरमा राखिदिन्छु आमा भनेर ल्याएको हो मेरो छोराले । फेरि भन्दैथियो त्यहाँ तपाईलाई कुनै दुख हुँदैन । केही दिन र केही महिना पछि लिन आउछु भन्थ्यो । यो के हो ? 

जगते काका : यो वृद्धाश्रम हो । तिमीलाई के थाहा व्यथा वृद्धाश्रको अनि कथा वर्तमानको ? अहिलेका नलायक छोराछोरीहरुले आफ्ना बाबुआमाहरुलाई बोझ ठानेर आफ्नो बोझ हल्का गर्न यही वृद्धाश्रममा हाल्छन् अनि कहिल्यै नआउने गरेर कानमा तेल हालेर बस्छन् । 

जुनेली : (डराउँदै ) मेरो साने त्यस्तो छैन । उ जरुर आउँछ । मेरो एक मात्र छोरो हो । म उ विना बाँच्न सक्दैन । 

(जुनेलीले छोराको फोटोलाई चुम्मा खाँदै भन्छीन् ) मैले खाइ नखाइ हुर्काएको मेरो छोरो , मैले च्याथिएको टालो हालेर लगाए पनि उस्लाई कहिल्यै पनि फाटेको लुगा लगाउन दिइन । मैले घर खेत बन्दगी राखेर उस्लाई ठूलो मान्छे बनाएको हुँ । कसरी मेरो सानेले धोका देला ? त्यस्तो हुनसक्दैन । 

जगते काका : सबैले सुरुमा यस्तै भन्छन् बहिनी । तर समय आए पछि सबै कुराको पर्दाफास हुन्छ । तिम्रो भाग्यमा जे लेखिएको छ त्यो भएर नै छोड्छ । बरु जाउँ हिड् भित्रतिर ।

(दुवै जना पर्दा बाट ओझेल पर्छन् ) 

सिन नं. ४ 

(लब्ली स्टेजमा स्टाइलसंग आउँछे । स्टेजमा आएर मोहितलाई फोन लगाउँदै ) 

लब्ली : कति ढिला गरेको भन्या । चाँडै आउछु भन्दैथियो त । यहाँ आफूलाई कति हतार भइसक्यो । 

(आत्तिएर यताउति गर्छे ) अब सन्चो हुनेभयो । त्यो बुढी माउको सधैको किचकिच सुन्नु पथ्र्यो । अव सदाको लागि हाइसन्चो हुनेभयो । अँ कहाँ आइपुग्यौ ? छिटो आउ भन्या । 

मोहित : (स्टेजमा आएर लामो श्वास फेर्दै ) बल्ल बल्ल मनाएर आए भन्या त्यो बुढीमाउलाई । मरिगए पनि घर छोड्न नमान्ने । अब त खुसी भयौ नि डार्लिङ ? 

लब्ली : आखिर हसबेन्ड कस्को ? मेरो राजा तिमीले मैले भनेको सजिलै संग मान्यौ नि है । 

मोहित : अब मेरो लाइफ भनेकै नै तिमी त हौनि । तिम्रो भनेको नमाने कस्को मान्ने मैले । त्यो बुढी माउको अब काम छैन । डाडापारिको घाम कुनै पनि वेला डुब्न सक्छ । ल जाउँ हिड । सामान सबै रेडि बनायौ हैन । ल गाडि छुट्छ है । अब हाम्रो भविष्यको ढोका खुल्यो हैन ? 

लब्ली : अब त जीन्दगी रोमान्समै वित्ने भो । न कसैको किचकिच , न कसैको बोझ । सधैभरी मोजका मोज ।     (दुवै जना जोडसंग हाँस्दै त्यहाँबाट ओझेल पर्छन् ) 

सिन नं. ५ 

जुनेली स्टेजमा खोक्दै खोक्दै आउछिन् । चारैतिर हेर्छिन् । छोराको फोटो हेर्छिन् । छोराको मायाले उनलाई साह्रै सताउँछ । चोलीको गोजिबाट मोवाइल निकाल्दै ) 

जुनेली : हलो ..... साने तलाई कस्तो छ वावु ? खाना खाइस ? 

मोहित : मलाई ठिक छ आमा ... मेरो बारेमा केही चिन्ता नलिनुहोस् । अहिले म मिटिङमा छु । फोन राख्नुहोस्े । पछि म आफै कल गर्छु । –फोन कट्छ ) 

जुनेली : हलो ...हलो ... ल फोन राखि हालेछ । एक बचन आमासंग बोल्न पनि कति गाह्रो मानेको होला । 

(लठ्ठी टेक्दै जगतेकाकाको प्रवेश ) 

जगतेकाका : के छ तिम्रो छोराको हालखबर ? तिमीलाई लिन कहिले आउँछ रे ? 

जुनेली : खै सधै हतार छ । मिटिङमा छु भन्छ । कुरा गर्नै मान्दैन । 

जगतेकाका : अब उनीहरुलाई हाम्रो के आश ? हामी उनीहरुको बोझ हौ जुनेली बहिनी । छोडिदेउ ति नालायक सन्तानहरुलाई । 

जुनेली : मेरो छोरो त्यस्तो छैन । उ जरुर आउँछ मलाई आमा भन्दै लिन । 

जगतेकाका : आमावावाको मन छोराछोरी माथि छोरा छोरीको मन ढुंगामुढा माथि भनेको यही हो । 

(जोडसंग हास्दा हाँस्दै रुन थाल्छ ) मलाई पनि मेरो छोराले यही भनेर यहाँ राखेको आज बर्षौबर्ष भइसक्यो । खोइ अझैसम्म लिन आएको छैन । अब तिम्रो छोरो आउँछ । 

जुनेली : –पुन : फोन लगाउँदै ) हेलो वावु ..... भोलि तेरो जन्मदिन .... 

मोहित : हा... आमा पनि कति फोन मात्रै गरेको .. अरु केही काम छैन र तपाईको फोन मात्र सुनेर बस्ने ? म अहिले जरुरी मिटिङमा छु  । 

जुनेली : विहानै नुहाइ धुवाई गरेर भगवान्लाई जल चढाउन .... (उताबाट फोन कटिसकेको हुन्छ । ) 

हैन के भाको हो ... आफ्नी आमासंग फोन गर्न पनि मान्दैन त .... 

(जुनेलीका आँखाबाट आँसु तरर वग्न थाल्छन् । आसु पुछ्दै खोक्न थाल्छिन् ..... खोक्दा खोक्दै स्या स्या हुन थाल्छ । ) हे भगवान् मेरो एउटा साहाराको लाठी पनि किन खोसि दियौ ? म उ विना वाँच्न पनि सक्दिन । ( रुन थाल्छिन् । छोराको फोटो छातीमा टाँस्दै भक्कानिएर भन्छिन् )  साने तँ त्यति निष्ठुरी किन भइस ? आज तेरा बा बाँचेको भए यस्तो दिन देख्नु पथ्र्यो ? (साह्रै गाह्रो हुन थाल्छ । पुन : छोरालाई फोन लगाउँदै भन्न थाल्छिन् ) हलो ... साने ... मलाई साह्रै गाह्रो भइसक्यो ... म अब बाँच्न सक्दिन होला .... साने 

मोहित : त्यसो नभन्नुस आमा ... तपाई मर्नु हुन्न । म दवाई खर्चको लागि यहाँबाट लाखौ रुपैया पठाइ दिन्छु । जस्तो सुकै रोग लागे पनि म तपाईलाई बचाउँछु आमा । मसंग थुप्रो पैसा छ । 

जुनेली : बाबु तसंग थुप्रो पैँसाको ताकत छ । त्यो ताकतले मलाई बचाउन सक्दिन वावु । मलाई पैसा हौइन तेरो माया चाहिएको छ । तेरा छोराछोरीसंग खेल्ने कत्रो रहर छ । त्यो रहर सबै सेलायर गयो बावु । तँ जतिसक्दो चाँडै आइज बावु । 

मोहित : आमा ..म आउन सक्दिन । बोस्ले मेरो स्यालरी भर्खर बढाइ दिएको छ । म कसरी छोडेर आउन सक्छु । फेरि तपाईको वुहारीले पनि राम्रो जव पाएकी छिन् । अहिले आउने कुरै नगर्नुस् आमा । 

जुनेली : तलाई तेरी आमाको भन्दा बढ्दा माया पैसा र तेरी श्रमतीको लाग्यो हैन । आज यही दिन देख्न परेको रहेछ मलाई । तलाई के थाहा आमाबावुलाई आफ्नो सन्तानको माया कतिको हुन्छ भनेर । फेरि बुढेसकालमा सन्तानको साहारा भएन भने बुढाबुढी ज्यूँदै मरेतुल्य हुन्छन् । साने ...... .(बुढीलाई हिक्का छुट्छ । सानेको फोटोलाई मुसार्दै बुढी बङलङ्ग पल्टिन्छीन। फोटो छातीमा राख्दै छट्पटाउँदै साने साने भन्दै प्राण त्याग्छिन् । यो सबै दृश्य जगतेकाकाले हेरिरहेका हुन्छन् । ) 

जगतेकाका :  (लठी टेक्दै जुनेलीको सिरानमा आएर भन्न थाल्छन् ) वाह .... नलायक सन्तानहरु हे  । आज कयौ बृद्ध बाबुआमाहरु यसरी नै वेवारिसे भएर मर्नु पर्ने भयो हैन । आखिर छोरा छोरी जन्माएर हुक्र्काएर , पढाएर , लेखाएर ठूलो मान्छे बनाएर के पाए बाबुआमाहरुले ? यही वृद्धाश्रममा तड्पीएर मर्न ? धिक्कार्छ हाम्रो समाजलाई अनि आजको पुस्तालाई । तिमीले आफ्नो खाल्डो आफै खन्दैछौ । आफ्नो संस्कार आफै विर्सदैछौ । सधैभरी व्यथा वृद्धाश्रमको नबनोस् । जवसम्म यो कथा वर्तमानले बुझ्दै तवसम्म हरेक वृद्धवृद्धा यसैगरी मर्नु पर्नेछ । 

(जगतेकाका दुइ हात जोड्दै भगवानसंग प्रार्थना गरिरहेका हुन्छन् । जुनेलीको मुखमा एक घुट्की पानी दिँदै भन्न थाल्छन् । ) 

जुनेली तिम्रो आत्माले शान्ति पाओस् । 

(पर्दा खस्छ )