प्रकाशले भने मेरो मन हल सम्म तान्यो

जुम्ला जिल्लाको पातारासी गाउँपालिकाको तिर्खु गाउँमा छायाङ्कन गरिएको फिल्ममा जुम्ली खस भाषा, संस्कृति, रहनसहन, रितिरिवाज फिल्मले दुरुस्तै उतारेको छ । फिल्मले जुम्ली भेषभुषा, भाषा, परिवेशले जुम्ला र जुम्ली पहिचान बोकेको छ ।

प्रकाशले भने मेरो मन हल सम्म तान्यो

पश्चिम नेपालको कथावस्तु समेटेर बनेको चलचित्र प्रकाश अहिले देश भर प्रदर्शनका क्रममा छ।खासै नेपाली चलचित्र हेर्न हलमा नपुग्ने म प्रकाशले भने मेरो मन हल सम्म तान्यो।सायद आफ्नै गाउँ ठाउँमा छायांकन गरिएको भएर पनि होला।

जुम्ला जिल्लाको पातारासी गाउँपालिकाको तिर्खु गाउँमा छायाङ्कन गरिएको फिल्ममा जुम्ली खस भाषा, संस्कृति, रहनसहन, रितिरिवाज फिल्मले दुरुस्तै उतारेको छ । फिल्मले जुम्ली भेषभुषा, भाषा, परिवेशले जुम्ला र जुम्ली पहिचान बोकेको छ ।

फिल्ममा नायक प्रदीप खड्का र नायिका दीया मास्केले प्रकाशकी आमाको रुपमा जुम्ली महिलाको भूमिकामा मुख्य अभिनय गरेका छन् भने अन्ने स्थानीय कलाकारहरुको अभिनय पनि रहेको छ।

विपन्न परिवारका युवा प्रकाशले सरकारी स्कुलको जागिर खानका लागि गरेको संघर्ष र उनले शिक्षक बन्न देखेको सपना पूरा गर्न भोगेका विभिन्न घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

प्रकाश फिल्मको सुरुवातमा दिया मास्के र प्रदिप खड्का अभिनित पात्र घर भित्र हुँदा पर्याप्त उज्यालो हुन्छ । रोगी आमा छोरालाई अरुको घरखेतमा काम गरेर पढाइरहेकी हुन्छिन् । बेपत्ता बुबाको सम्झनामा रहेको प्रकाश आफू शिक्षक बन्न संघर्षरत रहन्छ । फिल्मभर विभिन्न घट्नाक्रमले प्रकाशभित्रको नैराश्यतालाई थप विकास गराउँछ ।

दृश्यहरुमा जब प्रदिप र दिया अभिनित पात्र घरभित्र रहन्छन्, फिल्मको सुरुवातमा पर्याप्त उज्यालो रहेको कोठामा मधुर मधुर हुँदै धुमिल अँध्यारोले छोप्दै जान्छ । अन्त्यतिर आमा र छोरा आमुन्ने सामुन्नेको खाटमा सुतेका हुन्छन् । प्रदिप अभिनित प्रकाशको टाउको पट्टिको भागमा टुकी बलिरहेको हुन्छ । टुकीको प्रकाश दिया र प्रदिप दुवैको एकअर्कातर्फ फर्किएको अनुहारको भागमा मात्रै पर्छ ।

पछिल्लो भागमा अँध्यारो हुन्छ । आमा छोराको र छोरा आमाको आशाको पात्र भएको देखाउँछ यो दृश्यमा प्रयोग भएको उज्यालोको संकेतले । फिल्ममा कोठाभित्रबाट विस्तारै प्रकाश हराउनु र धुमिल अँध्यारोको साम्राज्य सिर्जना हुनुले फिल्ममा देखाउन खोजिएको नैराश्यता र आशाबिहिनतालाई प्रतिनिधित्व गर्छ ।

फिल्मले  गाउँ तिर एउटा स्कूल को शिक्षक बन्न पनि कति गाह्रो र कस्ट भोग्नु पर्छ भन्ने कुरा उठाएको छ। गाउँ घरमा गाउँमा विकास गरेर भन्दा नी गाउँलेलाई चामल बाढेर राजनीति गर्ने र गर्न खोज्ने जस्ता दृश्य देखाइएको छ।गाउँ घर मा अध्यनरत विद्यार्थीको शिक्षा कसरी खुसकिदो र कमजोर हुँदो रैछ भन्ने कुराले मनमा चिसो पस्छ। सरकारले विकासको लागि दिएको रकम गाउँका टाउके र राजनीति गर्ने ठालु भनाउदाले कसरी हिना मिना गर्ने रहेछन् भन्ने कुरा प्रष्टेयको छ।

बत्तीको उज्यालोको पर्खाइमा बसेको विकट गाउँमा झरो र टुकीको साहेताले आँखा पोल्दा पोल्दै गरेको दुःखले समाज परिवर्तन र विकास गर्छु भन्ने एउटा युवकलाई कसरी समाजमा भएका शोषक वर्गका मान्छेले  दुःख दिन्छन् भन्ने  कुरा देखाइएको छ।

गाउँमा भएका अनपढ ठालु, ठूला खुटिएका टाउके हरुले गरिबी मा परेका हरुलाई के कसरी लुट्छन् ,आफूहरुले जे जस्तो भन्यो तै हुनुपर्ने,आफूलाई मात्र मान्नु पर्ने गरीबलाई झन् गरीब बनाउन खोज्ने जस्ता दृश्य देख्दा आफ्नै गाउँ ठाउँ मा पुगेको र यस्तै खालको घटना आफ्नो गाउँमा पनि रहेको भन्ने आबास हुन्छ।

आदर्शको कुरा जीवनमा मेल खाँदैन ,रङ्ग बदल्ने महल भित्र जाँदा रहेछन् अनि रगतका खोला बगाउनेहरु यस्तो दुर्गम अनि अविकसित गाउँ मा दुःख गरी बस्नु पर्छ भन्ने संवादले मनमै छुन्छ।फिल्मको संवाद संगै पछाडि बज्ने गीत र धुन भने एकदम उत्कृष्ट छ सुनिरहु लाग्ने।

आफूले पालेका पशुहरू सँगनी कति भावनात्मक रूप मा नजिक हुन्छन् गाउँका मान्छेहरू भन्ने पनि देखाइएको छ। गाउँघरमा शोषक र सामन्ती हरुको शासन चलने जस्ता दृश्यले फिल्मलाई झनै मजबूत बनाएको छ।

आकाशमा कहिलेकाँही देखिने चिलगाडी (प्लेन ) देखिएपछि मात्र परदेशको खबर आउने अनि रेडियोमा समाचार सुन्न खोज्दा कुनै पनि रेडियोको टावर नटिप्नु भन्ने दृश्यले विकट जुम्लाको गाउँ कति सञ्चार माध्यम बाट पछी परेको छ भन्ने प्रस्टै बुझ्न सकिन्छ।

फिल्म हेर्दै गर्दा फिल्ममा देखाएका दृश्य र मैले मेरो गाउँ र समाजमा देखेका दृश्यहरूमा केही भिन्नता देखिन। मैले मेरो गाउँमा जे जस्तो दृश्य आँखा अगाडि देखेको थिए त्यही कुरा टपक्क टिपेर फिल्ममा राखिएको जस्तो मलाई भान् भयो।फिल्म एकदम यथार्थ परक(organic) बनेको छ।बिना कुनै कलरिङ जे छ त्यही दृश्यले दर्शकको मन लोभ्याउँछ साथै कलाकारको अभिनयले पनि।

प्रकाश फिल्ममा जुम्लालाई अझै चिनाउन र देखाउन सकिने विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू थिए। ती ठाउँहरूलाई समेट्न सकेको भए अझै  फिल्म सुन मा सुगन्ध थपेझै हुने थियो।

‘प्रकाश’ त्यो ‘अँध्यारो’को कथा हो, जुन गरिबी र अभावको कालो लाई छिचोलेर मसिनो ज्वतिको किरण खोज्ने प्रयास हो । रातमा जुन को मलिनो ज्वति खोज्दा खोज्दै औशीको रात भईदिन्छ हो त्यही हो प्रकाश।

जुम्लाको कथा बेथा बोकेको चलचित्र प्रकाश यो चलचित्र होइन एउटा बास्तबिकता हो। जुम्लालाइ संसार भरी चिनाउन जुम्लाको रहन सहन पहिचान लाई अब्बल बनाउने यो चलचित्रले केही परिवर्तन खोजेको छ केही सन्देश दिएको छ एक पटक सबैले हेर्नै पर्ने चलचित्र बनेको छ।

हाम्रा समाजमा धुपी र दूबो कहिल्यै ओइलाएनन् तर जुम्ली र समस्त कर्णालीका सपना, जीवन र कल्पना भने ओइलाउँदै गए, पहिले पनि र अहिले पनि। कर्णालीका राजनीतिज्ञहरूले आफूले नुन र चामलको राजनीतिभन्दा कहिल्यै माथि उठाएनन्। भोकालाई सधैँ माछाका टुक्रामात्र दिएर लोभ्याइरहे तर माछा मार्न सिकाएनन्। हो यस्तै कुरा प्रकाशले आम दर्शक लाई देखाउन खोजेको छ।

प्रकाश हेरे र हेरिसके पश्चात चलचित्र ले उठाएको बिषय बस्तु र पात्र प्रति सोच्न बाध्य भएर आए। जुम्ला मा बस्ने सामान्य पात्र को गहन कथा बोकेको छ प्रकाश ले।  ठाउँ, परिवेश, अवस्था अनि पिडित भईने तरिका फरक हुन सक्छ तर प्रकाश पात्रले हजारौ आम सर्बसाधारण प्रकाशहरुको प्रतिनिधित्व गर्दछ।

चलचित्रले emotional र स्तब्ध बनायो। सायद सोच्न बाध्य बनाउनु नै यो फिल्मको सफलता हो। केही यस्ता फिल्म हुन्छन्, जसले मुटुमा लामो समयसम्म गाँठो पारिरहन्छन् । ‘प्रकाश’ त्यस्तै गाँठो हो ।शानदार उपन्यास पढेजस्तो, शानदार गीत सुनेजस्तो, शानदार कविता पढेजस्तो ।